२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जावलाखेल एफसी खुमलटारसँग पराजित


286
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब एफसी खुमलटारसँग पराजित भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले ४–२ गोल अन्तरले हराएको हो ।

खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउको नाममा एक गोल रह्यो । जावलाखेलका विनोद केसीले एक गोल फर्काए । रोहित सुब्बाले एक आत्मघाती गोल गरे । जारी लिगमा खुमलटारको यो पाँचौं जित हो । खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ । जावलाखेलको भने यो पाँचौं हार हो ।

पछिल्ला खेलमा खराब लयबाट गुज्रेको जावलाखेल १५ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पछिल्ला तीन खेलमा जावलाखेलले एक अंक मात्र बटुलेको छ । जावलाखेल २४ अंकमै सीमित रह्यो । यसअघि संकटासँग बराबरी खेलेको जावलाखेल हिमालयन शेर्पासँग पराजित भएको थियो । यो हारसँगै जावलाखेलले दोस्रो स्थानको चर्च ब्वाइजसँग अंक दूरी बढाउने अवसर गुमाएको छ ।

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयनले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो । हिमालयनको जितमा अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले एक एक गोल गरे । पुलिसका सौजन राईले एक गोल फर्काए । जारी लिगमा हिमालयनको यो पाँचौं जित हो । हिमालयनले १५ खेलमा २० अंक जोडेको छ । पुलिसको यो आठौं हार हो । पुलिसले १५ खेलमा १५ अंक जोडेको छ ।