
काठमाडौं । चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुङ्गटालाई हालसम्म प्रहरीले पक्राउ नगरिएको भन्दै शनिबार चितवन बन्द गरिएको छ ।
शंकर कंडेल न्यायिक संघर्ष समितिद्वारा आयोजना गरिएको बन्दको प्रभाव जिल्लामा देखिएको छ । बन्दले राजमार्गमा ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् ।
नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् ।
कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुङ्गटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।
परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ ।
जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् । प्रदीप नै आत्महत्या प्रकरणको मुख्य व्यक्ति भएकोले पक्राउ गर्नुपर्ने माग व्यवसायीहरुको छ ।
यसैबीच, कांग्रेस चितवनले शनिबार दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौंविसकोठीमा एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने जनाएको छ ।
जिल्ला सभापति राजेश्वर खनालले शंकर कँडेल आत्महत्या प्रकरणमा जोडिएका रुङ्गटालाई पक्राउ गर्न ढिला गरेकोले दबाब दिन राजमार्ग बन्द गर्न लागिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्