
काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) बाट सुरू हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ ।
संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुनेछ । यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।
आगामी आर्थिक बर्षको बजेट जेठ १५ मा संसदमा पेश गर्नुुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि नै बार्षिक नीति तथा कार्यक्रम पेश हुनेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।
आइतबारको बैठकको सुरूमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान तथा मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुनेछ ।
यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्ने कार्यसूची रहेको छ । यस अघि ११० दिन चलेको पहिलो हिउदे अधिवेशनमा ९२ घण्टा ३० मिनेट बैठक बसेको थियो तर एउटा पनि बिधेयक पारित हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्