
एजेन्सी । भारतीय अभिनेत्री आदा शर्मा अभिनित फिल्म ‘द केरला स्टोरी’ ले बक्स अफिसमा शानदार ओपनिङ गरेको छ ।
विवादका बीच रिलिज भएको फिल्म ‘द केरला स्टोरी’ ले पहिलो दिन ७ करोड ५ लाख भारतीय रुपैयाँ कमाएको हो ।
करिब २८ करोड भारू बजेटमा बनेको यो फिल्मको आँकडा निकै प्रभावशाली मान्न सकिन्छ । फिल्मको रिलिज रोक्नका लागि उच्च अदालतदेखि सर्वोच्च अदालतमा निवेदन परेको थियो तर अदालतले ती निवेदन खारेज गरेको थियो ।
अहिले फिल्मले रिलिजसँगै उत्कृष्ट ओपनिङ पनि गरेको छ । फस्ट डे कलेक्सनको मामिलामा पनि यसले अक्षय कुमार र कार्तिक आर्यनको फिल्मलाई पछाडि छोडेको छ ।
इन्डस्ट्री ट्र्याकर सक्निल्कका अनुसार प्रारम्भिक आँकडा अनुसार फिल्मले बक्स अफिसमा ७ करोड ५ कलेक्सन गरिसकेको छ । ब्यापार विश्लेषकका अनुसार दर्शकको बढ्दो संख्यालाई मध्यनजर गर्दै धेरै थिएटरले अतिरिक्त शो बढाएका छन् ।
‘द केरला स्टोरी’ लाई फिल्म निर्माता सुदिप्तो सेनले निर्देशन गरेका हुन् । फिल्म आफ्नो कथालाई लिएर विवादमा छ । फिल्मको कथा केटीहरुको धर्म परिवर्तनमा आधारित छ । आतंकवादी सङ्गठन आईएसआईएसले कसरी युवतीलाई प्रलोभनमा पारेर आफ्नो समूहमा भर्ती गर्छ भन्ने कुरा फिल्ममा देखाइएको छ ।
फिल्मको प्रशंसा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गरेका छन् । उनले भने, ‘आतंकवादको नयाँ रूप के हो, त्यसलाई फिल्ममा सही ढंगले देखाउने प्रयास गरिएको छ । हतियार र बन्दुकबाहेक नयाँ ढंगले समाजलाई खोक्रो बनाउने काम गरिरहेका छन् ।’
मोदी थप्दै भन्छन्, ‘यो फिल्मले आतंकवादको नयाँ अनुहारलाई उजागर गरेको छ । कांग्रेस सत्तामा रहँदा आतंकवादी संगठनको चपेटामा परेको छ । कांग्रेसले यो देशलाई आतंकवादबाट कहिल्यै बचाउन सकेन । हामीले वर्षौंदेखि यो पीडा सह्यौं ।’
अभिनेत्री कंगना रनावतले पनि फिल्म ‘द केरला स्टोरी’ लाई समर्थन गरेकी छिन् । उनले आतंकवादी संगठन आईएसआईएस बाहेक कसैलाई पनि फिल्ममा नराम्रो नदेखाइएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्