१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेयर साम्पाङलाई अमर्यादित शब्द प्रयोग नगर्न ध्यानाकर्षण


9.204k
Shares

सुनसरी । नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्कराज राई (साम्पाङ) लाई पत्रकारहरुलाई अमर्यादित र असोभनिय शब्द प्रयोग गरेर गाली गरेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न र पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेको छ ।

केही दिनदेखि मेयर राईले पत्रकारहरुलाई विभिन्न राजनैतिक दलहरुको झोले भन्दै सामाजिक सञ्जालमा अमर्यादित र अशाेभनिय शब्द प्रयोग गरी गाली गर्दै धम्की दिएपछी पत्रकार महासंघ सुनसरीले त्यस्ता गतिविधि बन्द गर्न उहाँलाई अनुरोध गरेको छ ।

मेयर राईले पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे, स्थानिय ब्लाष्ट टाईम्स दैनिक र कपुरी डटकम अनलाईनलाई अमर्यादित शब्द प्रयोग गर्दै धम्की दिएका थिए । त्यस पश्चात पत्रकार महासंघ सुनसरीको टोलीले आइतवार मेयर राईलाई कार्यकक्षमै भेटेर आइन्दा त्यस्ता हर्कत नदेखाउन र पत्रकारलाई अमर्यादित शब्द प्रयोग गरी धम्की दिएकाले प्रेस स्वतन्त्रताको हनन भएकाले तीनदिन भित्र आफ्नो धारणा सार्वजनिक गर्न माग गरेको छ ।

मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाइएको र तीनदिन भित्र चित्त बुझ्दो जवाफ नआए सुनसरी पत्रकार महासंघ मेयरविरुद्ध आन्दोलनमा उत्रने महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए ।

पत्रकार महासंघको ध्यानाकर्षण बुझ्दै मेयर राईले धरानका केहि पत्रकारहरुले आफूविरुद्ध अनावश्यक समाचार प्रकाशित गरेको र निराधार आरोप लगाएको आरोप लगाए । उनले पत्रकारहरुलाई धरान नगरपालिकाले गरेका राम्रा कामको पनि समाचार प्रकाशित गरिदिन आग्रह गर्दै पत्रकार महासंघले मागेको समय सिमाभित्र आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

धरानमा खानेपानी आयोजनामा श्रम अभियान चलाउदै आएका मेय राई पछिल्लो समय सामाजिक सञ्जालमा राजनैतिक दलका कार्यकर्ता, धरानका अन्य जनप्रतिनिधिहरु, पत्रकारहरुलाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गर्न थालेपछी विवादित बनेका छन्।