
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।
तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।
जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ । उक्त जहाजको ल्यान्डिङ गियरमा गत शनिबार समस्या आएको थियो । सोमबार फेरि त्यही समस्या दोहोरिएको छ ।
प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको जानकारी दिएको छ । सोमबार बिहान भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा खराबी आएपछि पुनःभैरहवा फर्काइएको थियो ।
बिहान ९ बजेर ४० मिनेटमा उडेको विमान २० मिनेटपछि भैरहवा विमानस्थलमै अवतरण गराइएको हो । जहाज अवतरण भए पनि पाङ्ग्रा लक हुँदा आधा घण्टासम्म धावनमार्गमै रोकिएको थियो । श्री एअरलाइन्सको जहाजका कारण अरू जहाजका उडान र अवतरण पनि प्रभावित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्