२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


फिल्म ‘द केरला स्टोरी’ लाई पश्चिम बंगालमा प्रतिबन्धित


897
Shares

एजेन्सी । फिल्म ‘द केरला स्टोरी’ लाई पश्चिम बंगालमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ।

फिल्म प्रदर्शन भएमा राज्यको शान्ति र व्यवस्था भंग हुन सक्ने भन्दै पश्चिम बंगालमा फिल्म प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको हो ।

मुख्यमन्त्री ममता बनर्जीले मुख्य सचिवलाई दिएको आदेशमा कसैले आदेश उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।

सरकारले जारी गरेको आदेशमा कुनै हलमा फिल्म प्रदर्शन भएमा तत्काल हटाउन पनि भनिएको छ ।

मुख्यमन्त्री बनर्जीले सोमबार पत्रकार सम्मेलनमा भनिन्, ‘केरलापछि अब बंगाललाई निशाना बनाइनेछ । बंगालको फाइल पनि तयार हुँदैछ भन्ने थाहा भयो । म केरलाका मुख्यमन्त्रीसँग कुरा गर्नेछु र उहाँलाई बताउँछु कि सीपीएमका केही व्यक्तिहरू पनि भाजपासँग मिलेर छन् । यस फिल्ममा तथ्यलाई छेडिएको छ । बंगालमा यो फिल्म चलिरह्यो भने राज्यको साम्प्रदायिक वातावरण बिग्रन सक्छ । यी मानिसहरूले पहिले कश्मीरका जनताको अपमान गरे र अहिले केरलाका जनताको अपमान गरिरहेका छन् ।’

‘द केरला स्टोरी’ ले कमाईको हिसाबले राम्रो कलेक्सन गरिरहेको छ । फिल्मले रिलिजको तेस्रो दिन आइतबार १६ करोड रुपैयाँ कमाएको छ ।अहिलेसम्म फिल्मको कुल कलेक्सन ३५ करोड २५ लाख भारतीय रुपैयाँ पुगेको छ ।

फिल्मलाई लिएर निकै विवाद भइरहेको देखिए पनि फिल्मले राम्रो कमाई गरिरहेको छ । करिब ३० देखि ४० करोडको लागतमा बनेको यो फिल्मले आफ्नो सम्पूर्ण खर्च उठाएको छ ।