२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


मर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्याे


182
Shares

काठमाडाैं । तनहुँको आबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ ।

जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्याङदी नदीमा पानीको बहाव कम भएर उत्पादनमा कमी आएको हो । तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत उत्पादनमा कमी आएको जलविद्युत केन्द्रले जनाएकाे छ ।

विगत वर्षको तुलनामा यस वर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहान समेत सुक्दै गएकाले विद्युत् उत्पादन कमी भएको छ । पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत उत्पादन हुँदै आएको छ ।

नदीमा पानीको बहाव वृद्धि भएको समयमा ३ वटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन हुने गर्दछ । नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घट्दै गएको छ । साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने र साँझ र बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ ।

सुख्खा याम भएकोले उत्पादनमा कमी आएको तर हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन करिब १० युनिट बढी विद्युत् उत्पादन गर्न सकिने भएकाे छ । केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।