
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिनुभएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रायमाझीले प्रयोग गर्नुभएको ‘उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।
वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीको शब्दप्रति नियमापत्ति जनाउनुभएको हो । एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एक पटक सुनेर मंगलबारको बैठकमा निर्णय लिने बताउनुभएको थियो ।
सोही अनुसार मंगलबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गर्नुभएको राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को घको व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सदस्यहरुले सभामा बोल्दा राष्ट्रिय सभाको हालसम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्था बमोजिम शिष्ट र मर्यादित शब्दहरु प्रयोग गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्