
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्नुपर्ने बताउनुभएको छ ।
उहाँले निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्नुपर्ने व्यवस्थासहित ऋणको पुन:संरचना एंव पुनर्तालिकीकरण तथा पुनर्कर्जा सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग आग्रह गर्नुभएको हो । महासंघको तर्फबाट राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९/०८० को चौथो त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै अध्यक्ष ढकालले निक्षेपको व्याजदर घटेसँगै तत्काल कर्जाको व्याजदर पनि घटाउन आवश्यक रहेको बताउनुभयो ।
आर्थिक गतिविधिहरु शिथिल हुँदा उद्यमी व्यवसायीहरुमा ऋणको साँवा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको र बैंकहरुको खराब कर्जा अनुपात पनि बढेकाले तत्काल पुनर्कर्जा, कर्जाको पुनर्संरचना एवं पुनर्तालिकीकरण गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिनुभयो ।
बैंकिङ प्रणालीमा करिब २ खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदा-हुँदै पनि कर्जा प्रवाह हुन नसकेको भन्दै अध्यक्ष ढकालले यसलाई सम्बोधन गर्नको लागि नीतिगत निर्णयमा पुग्न पनि आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्