
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकारको प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित हुने गरी सरकारले आम सञ्चारसँग सम्बन्धित नीति, कार्यक्रम, बजेट, नियमावली तर्जुमा गरी त्यसको व्यवहारिक कार्यान्वयनमा लैजान विशेष ध्यान दिएको पनि बताउनभयो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हर क्षण आवश्यक रहेकाले सरकारले त्यसको सुनिश्चित गरेर अघि बढनुको विकल्प नभएको उहाँको भनाई थियो ।
मन्त्री शर्माले मिडियाको प्रमोशनका लागि सरकारले केन्द्रित भएर काम गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आम सञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउने कुरालाई अघि बढाएको पनि बताउनुभयो ।
मन्त्री शर्माले सञ्चार क्षेत्रसँग सम्बन्धित कानून निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सुझाव लिने गरी समितिनै बनाइएको स्मरण गराउनुभयो ।
मन्त्री शर्माले सञ्चार क्षेत्रलाई पनि अन्य उद्योग सरह बैंकबाट लोन लिएर काम गर्न सक्ने व्यवस्था सरकारले गरेको पनि उल्लेख गर्नुभयो । उहाँले सरकारी सञ्चार माध्यामलाई सरकारको भजनमण्डली बनाउनु हुन्न भन्ने मान्यताको आधारमा प्रशारणसम्बन्धि विधेयक अघि बढाइएको दोहोर्याउनुभयो ।
राजनीतिक स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तरसम्बन्धित विषय भएकाले त्यसको हनन् हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
नेपाल पत्रकार महासंगको अध्यक्ष विपुल पोखरेलले समाजिक सञ्जालमा अवाहा फैलाउनेलाई कानूनी कार्वाही गर्नु पर्ने बताउनुभएको छ । उहाँले पत्रकारलाई हातपात गर्ने, धम्कि दिने, पत्रपत्रिकाहरु जलाउने जस्ता अपराधिक क्रियाकलाप नेपालमा बढ्दै गएकोले त्यसको तत्काल समधान खोजन सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्