
काठमाडौं । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ ।
मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु विभिन्न मुलुकमा पुगेको र एक पटकका लागि भने सरकारले वैधता दिनेगरी आफ्ना काम कारबाही अघि बढाएको बताउनु भयो । उहाँले वैदेशिक रोजागारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमीकहरु बढी शोषणमा परेको बताउनुभयो । उहाँले अवैध रुपमा विदेश गएका नेपाली नागरिकहरुलाई एक पटकका लागि वैधता दिन सरकारले अभियानकै रुपमा काम थालेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ओरेक नेपालका संस्थापक अध्यक्ष रेणु राजभण्डारीले महिलाहरुको श्रमको मूल्य पाउनेगरी सामाजिक सुरक्षा योजना आवश्यक रहेको बताउनुभयो । उहाँले प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रमको आवश्यक्ता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले वैदेशिक रोजगारीबाट अलपत्र बनेर आएका महिलाहरुको व्यवस्थापनका लागि सातै प्रदेशले सोच्न जरुरी रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा गइ अलपत्र परेका महिलाहरुको अभिभावकत्व राज्यले लिनुपर्ने बताउनुभयो ।
सदस्य खतिवडाले अहिले पनि खुला नाकाबाट महिलाहरु बेचिनुपर्ने अवस्था विद्यमान रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्