
काठमाडौं । अर्घाखाँचीमा जंगलमा लागेको आगो बस्तीमा फैलिएपछि निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।
भूमिकास्थान नगरपालिका–२ को तिरतिरे जंगलमा लागेको आगो पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा भूमिकास्थान–२ तिरतिरेका ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे र २६ वर्षीया अस्मिता बेल्वासे रहेका छन् ।
उनीहरुलाई उपचारका लागि सदरमुकाम सन्धिखर्क लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै, पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगलागीमा परेर दुई जना घाइते भएका छन् भने सात वटा बाख्रा र एक बङ्गुर मरेका छन ।
मंगलबार दिउँसो करिब ३ बजे गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो बस्तीमा सल्केर घरमा क्षति पुर्याएको हो ।
आगलागीबाट मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे र लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएका छन । भिमिसरा साठीघरेको घर आंशिक रूपमा जलेको छ ।
आगलागीमा परि घाइते भएका ७६ वर्षीय दलबहादुर साठीघरे र उनकी बुहारी लक्ष्मी साठीघरेको रामपुर अस्पतालसम्म उपचार भईरहेको छ ।
विस्थापित परिवारलाई अहिले गाउँकै सिद्ध प्राथमिक विद्यालयमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्