२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


1.482k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँण आज बिहान चाबहिल मैजुबहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

खाँण पक्राउ परेलगत्तै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबूटीस्थित उनकै निवासबाट पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको छ ।

उनीहरुलाई सोधपुछ गरेपछि प्रहरी नियन्त्रणमै राख्ने वा घर पठाउने भन्नेबारे निर्णय लिने प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

पाण्डेले खाँणकै निर्देशनमा आफूले सबै काम गरेको बयान दिएको पनि प्रहरी स्रोतको भनाइ छ ।

विचौलियाहरुले खाँण पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको छ । सो अडियोमा विचौलियाले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई पनि साढे दुई करोड बुझाएको बताएका छन् ।

सोही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।

तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी यसअघि नै पक्राउ परिसकेका छन् ।

अनुसन्धानमा जुटेको प्रहरीले अझै दर्जन बढीमाथि निगरानी बढाएको बुझिएको छ ।