५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ


1.586k
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताउनु भएको हो ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके विदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले वैदेशिक लगानीका सीमाहरु फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने बताउनु हुँदै अर्थमन्त्री महतले नेपालमा लगामीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

अर्थमन्त्री महतले आफ्नो पूरा कोशिस लगानीका वातावरण सिर्जना गर्नका लागि रहेका व्यवधानहरु खोल्नु रहेको बताउनुभयो । उहाँले संसदमा अहिले अर्थतन्त्रको पूरा शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकै पटक गर्दा अफ्ठ्यारो हुने बताउनुभयो ।

संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताउनुभएको हो ।

अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।