८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


संकुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप संकुचनतर्फ धकेलिन्छ : पूर्वअर्थमन्त्री शर्मा


234
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप संकुचनतर्फ धकेलिने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभामा विनियोजित विधेयक २०८०को बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान अवस्थामा देखिएका अर्थतन्त्र संकुचन तथा निकट भविष्यमा आउने वित्तीय क्षेत्रको चुनौतिलाई गम्भिर भएर सरकारले सोच्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई आर्थिक संकुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनःपरिचालित बनाउन बजेट प्रभावकारी भएको बताउनुभयो ।

उहाँले अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउन बाहेक अन्य कुनैपनि रणनीति हुन नसक्ने बताउनुभयो । उहाँले आर्थिक गतिविधि बढाउनको लागि बजेट बढाउँदा स्रोतको चुनौतिलाई ध्यान दिन आवश्यक रहेको बताउनुभयो । शर्माले समग्र आर्थिक संकुचन आएको वर्तमान अवस्थामा बजेट निर्माण अत्यन्त महत्वपूर्ण पक्ष भएको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउँदै सरकारको लक्ष्य पूरा गर्ने प्रभावकारी अस्त्र भएको बताउनुभयो ।

उहाँलेआगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी उपयुक्त हुने बताउनु भयो। उहाँले निश्चित क्षेत्रभित्र रहेर बिस्तारकारी बनाए अन्य क्षेत्रमा खर्च कटौति र नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले संकुचनको चुनौति रहेको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अवलम्वन गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले सरकारी खर्चको स्रोत व्यवस्थापनको चुनौति भएकाले निजी क्षेत्रको प्रवद्र्धनले राहत पुग्ने दाबी गर्नुभयो ।

उहाँले निजी क्षेत्र चलायमान भएपछि मात्रै सरकारले आम्दानी बढ्ने बताउनुभयो । उहाँले बजेट बनाउनु पूर्व सबै मन्त्रालय र संस्थाहरुको १० प्रतिशत चालु खर्च कटौति गर्ने योजना र योजनाहरुको पुनःप्राथमिकरण गर्ने, सेवासुविधा र प्रयोगको पुनः परिभाषित गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।