१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘हल्कारा’ को ग्रान्ड प्रिमियर सम्पन्न


169
Shares

काठमाडौं । शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ।

नयाँ बानेश्वरस्थित वन सिनेमाजमा बुधबार साँझ करिब ४ सय शुभचिन्तककाे माझमा प्रिमियर गरिएको हो। उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा संचारकर्मीहरुले चलचित्र हेरेका थिए ।

चलचित्रकाे बारेमा प्रतिक्रिया दिँदै सहभागीहरूले नेपाली चलचित्रको इतिहासका लागि एउटा परिपक्क चलचित्र थपिएको बताएका छन् । उनीहरूले हरेक घरमा भएको कथा चलचित्रले सुन्दर तवरले व्यक्त गरेको बताएका छन् ।

गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।

यो चलचित्र कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ ।

नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो । फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतिक र आकाश बरालले सह-लेखन गरेका छन् ।

यस चलचित्रमा महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।