२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छ : तुलाधर


117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू सरकारमा सहभागी हुँदा विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई एउटा छुट्टै मन्त्रालय बनाएर जाने प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो । उहाँले प्राधिकरणलाई गृहमन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने कुरा पनि सफल हुन नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले अब विपद्जन्य गतिविधिहरु बढ्ने भएकाले पूर्वतयारीका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले सबैभन्दा पहिला शारीरिक अशक्तता भएकाहरुलाई सुरक्षित गर्नुपर्ने आवश्यक्ता रहेको र अन्य नागरिकलाई पनि पूर्वसूचनाको विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्युनिकरणका लागि बेलैमा पूर्वरणनीति बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले विगतमा सिकेको अनुभवलाई रणनीति बनाएर अघि बढ्नसके विपद्बाट जनधनको क्षति हुनबाट रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले गीत, संगीत र भिडियोको माध्यमबाट गाउँ गाउँमा सचेतना फैल्याउनुपर्ने बताउनुभयो ।

कार्यकारी प्रमुख पोखरेलले शारीरिक अशक्त भएकाहरुलाई सबैभन्दा पहिला विपद्जन्य अवस्थाका बारेमा सचेत र सूचना दिनुपर्ने बताउनुभयो ।