२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


९ सय बढी व्यवसायीको मिसम्याच कारोबार


4.732k
Shares

परासी । नवलपरासीका ९ सय भन्दा बढी व्यवसायीको आय विवरण र वास्ताविक कारोबार मिसम्याच भएको छ ।

मिसम्याच देखिएपछि उनीहरुबाट थप राजस्व रकम जम्मा गर्न लगाइएको छ ।

जसबाट २ करोड बढी राजस्व संकलन भएको करदाता सेवा कार्यालय परासीका कर अधिकृत विकल्प भट्टराईले जानकारी दिनुभयो ।

व्यवसायीहरुले कार्यालयमा पेश गरेको आय विवरण र उनीहरुले गरेको वास्तविक कारोबारमा फरक देखिएपछि फरक परेको रकममा डेढ प्रतिशत राजस्व रकम जम्मा गर्न लगाइएको भट्टराईले बताउनुभयो ।

विवरण फरक भएका करदाताबाट २ करोड ७५ लाख राजस्व संकलन गरिएको छ । नवलपरासी जिल्ला नेपालमै मिसम्याचमा सहभागिता जनाउने संख्याको आधारमा पहिलो र राजस्व संकलनमा दोस्रो स्थानमा रहेको छ ।

मिसम्याच कारोबारमा सहभागिता जनाउने व्यवसायीको संख्या ९ सय ७५ रहेको छ । यसैबीच, गत साउनदेखि चैत मसान्तसम्म कार्यालयले ६१ करोड २१ लाख ३१ हजार राजश्व संकलन गरेको थियो ।

गत वर्ष यो अवधिमा कुल ५७ करोड ९४ लाख २२ हजार संकलन भएको थियो । चालु आर्थिक वर्षमा कार्यालयले कुल ९६ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ९० प्रतिशत भन्दा बढी प्रगति हासिल गरेको कर अधिकृत भट्टराईले बताउनुभयो ।