
एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारीलाई गैरकानूनी भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ ।
खानलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराउदा वकिलहरूले इस्लामावादको उच्च अदालत परिसरबाट उहाँको गिरफ्तारी गैरकानूनी भएको तर्क गरेका हुन् । खानको गिरफ्तारीपछि पाकिस्तानभर हिंसा भड्किंदा करिब १० जनाको मृत्यु भइसकेको छ ।
गत वर्षकाे अप्रिलमा संसदमा अविश्वासको प्रस्ताव ल्याएर पदबाट हटाइएका खानलाई पाकिस्तानका प्रधान न्यायाधीशको आदेशमा अदालतमा उपस्थित गराइएको थियो । खानले आफूलाई उच्च अदालत परिसरबाट अपहरण गरिएको र लाठीले प्रहार गरेको दावी गर्नुभएकाे छ ।
खानमाथि भ्रष्टाचार र पदीय दुरुपयोग लगायतका एक दर्जन बढी मुद्दा लगाइएको छ । अभियोग प्रमाणित भएको खण्डमा खान यही वर्षको अन्त्यमा हुने चुनाव लड्न अयोग्य हुनुहुने भएकाे छ । खानलाई जीवनभर राजनीति गर्न नपाउने गरी प्रतिबन्ध लगाउने षड्यन्त्र पनि भइरहेको उहाँको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) ले जनाएको छ ।
पूर्वप्रधानमन्त्री खानसँगै उहाँको पार्टीका शीर्ष ७ जना नेताहरुलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्