
सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ ।
सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे । सुनसरीको नेपाल र भारत सीमा क्षेत्रबाट बिहीबार २५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर नेपाल भित्राइएको अवैध सामान बरामत गरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताउनुभयाे ।
सशस्त्र प्रहरीले सुनसरीको देवानगन्ज गाउँपालिका-७ राजगन्ज सिनुवारीबाट अवैध रुपमा नेपाल ल्याइदै गरेको १ सय ९९ सेट लेडिज कुर्था सुरुवाल र दुई थान भारतीय मोटरसाइकलसहित ५ लाख ७७ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको उपरीक्षक तुम्बाहाम्फेले बताउनुभएकाे छ ।
त्यस्तै, कोशी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गबाट १२ लाख मूल्य बराबरको प्रदेश- ३-०१-२२ च १९१३ नम्बरको पिकअफ भ्यान र भ्यानमा भन्सार छली गरेर ल्याउदै गरेको १ लाख ७७ हजार ४ सय ५५ रुपैयाँ बरबरको जुत्ता चप्पल बरामद गरिएको उपरीक्षक तुम्बाहाम्फेले बताउनुभयाे । उहाँले तस्करीमा सम्लग्न सप्तरी राजविराज नगरपलिकाका-८ का आदर्श कुमार चन्दनलाइ पक्राउ गरिएको बताउनुभयाे ।
त्यस्तै, पूर्वपश्चिम राजमार्गमा ग २ ख १५३० नम्बरको बस चेक गर्ने क्रममा भन्सार छली गरेर बाग्लुङ लादै गरेको १८ लाख ४० हजार ४ सय ५० रुपैयाँको इसिजि मेसिन बरामद गरिएको उपरीक्षक तुम्बाहाम्फेले बताउनुभयाे । त्यस्तै, भन्सार छ्ली गरी भारततर्फ लैजादै गरेको ६६ हजार ९ सय २० रुपैयाँको मदिरा बरामद गरिएको पनि उहाँले बताउनुभयाे ।
बरामद गरिएको सबै सामान र तस्करीमा सम्लग्न ब्यक्तिलाई आवश्यक कारबाही गर्नका लागि भन्सार कार्यालय कोशी ब्यारेज र राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको उपरीक्षक तुम्बाहाम्फेले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्