६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गृहमन्त्री श्रेष्ठद्वारा बग्गीखानाको अनुगमन


1.586k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको रामशाहपथस्थित बग्गीखानाको अनुगमन गर्नुभएको छ ।

नविकरण खारेज भएका र चोरीका सवारी साधनहरु कवाडीमा परिणत भईरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगी ती सवारी साधनको अवस्थाबारे जानकारी लिनुभएको हो ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरसहित त्यहाँ पुग्नु भएका उहाँलाई त्यस्ता सवारी साधनहरु लिलामी गर्न मिल्ने गरी कानूनी व्यवस्था गरिदिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख प्रहरी नायब महानिरीक्षक षोषराज पोखरेलले आग्रह गर्नुभएको थियो । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता सवारी साधनहरुलाई कवाडीको रुपमा राख्न नमिल्ने उल्लेख गर्दै ती समस्या समाधान हुने गरी छिट्टै कानूनी व्यवस्था गर्ने आश्वासन दिनुभएको थियो ।

उहाँले त्यसका लागि समस्या र समाधानका उपायहरुसहितको बुँदा मन्त्रालयमा बुझाउन पनि सो कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

यता, सो ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोखरेलले भने आफूहरुले लिलामी गर्न मिल्ने कानुन नभएको त्यस्ता सवारी साधनहरु वर्षौसम्म होल्ड गरेर राख्नुपर्ने अवस्था आएको उपप्रधानमन्त्री श्रेष्ठलाई ब्रिफिङ गर्नुभएको थियो । उहाँले त्यसका लागि विशेष कानूनको व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि बताउनुभयो ।

सो कार्यालयका अनुसार हाल काठमाडौं उपत्यका भित्र मात्रै नविकरण खारेज भएका र चोरीका सवारी साधनहरु करिब २ हजार १ सय वटा थन्किएर बसेका छन । तर, कानूनको अभावमा ती सवारी साधनहरु ट्राफिक प्रहरी कार्यालयले लिलामी गर्न सक्ने अवस्था नभएको पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।