
काठमाडौं । बिहीबारदेखि सुरू भएको नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शनिबार सकिँदै छ ।
शनिबारको बैठकमा समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित ९ महिनापछि बसेको केन्द्रीय कमिटीको बैठक समापन हुनेछ ।
केन्द्रीय कमिटी बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको छ । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको हो ।
बैठकमा गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गरेपछि सबै प्रतिवेदनमा समूहगत छलफल भएको थियो ।
दोस्रो दिनको बैठकमा शुक्रबार प्रदेश कमिटीसहित ८ समूहले सुझाव दिएका थिए । सोही सुझावको आधारमा केही बेर अघि सुरु स्थायी कमिटी बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने बताइएको छ ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गर्नु भएको छ ।
एमालेले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकालाई आगामी जेठमा प्रशिक्षण दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्