
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दुई दिन हिरासतमा बसेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुग्नुभएको छ ।
इस्लामावाद उच्च अदालतले शुक्रबार अल–कादिर ट्रस्ट मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । लाहोरमा समर्थकहरुले खानलाई न्यानो स्वागत गरेका छन् । शनिबार बिहान खान सडकमार्गबाट लाहोरस्थित आफ्नो घर पुग्नुभएको हो ।
जमानत पाएपछि पनि खान केही घण्टा इस्लामावाद उच्च अदालतकाे परिसरमै बस्नुभएको थियो । एक भिडियो सन्देशमा खानले अदालतमा ३ घण्टासम्म बन्धक बनाएको र विभिन्न बहाना बनाएर बाहिर निस्कन नदिइएको बताउनुभएको छ ।
तर इस्लामावाद प्रहरीले ट्वीट गर्दै खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुने दावी गरेको छ । पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि पाकिस्तानभर हिंसाका घटनाहरू भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्