१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


आरआरएनको सहयोगपछि दोलखाका तरकारी कृषक आयआर्जनमा


897
Shares

दोलखा । नेपाल ग्रामीण पुननिर्माण संस्था (आरआरएन) को सहयोग पछि दोलखाका कृषकहरूको जीवन शैलीमा परिवर्तन आएको छ । अहिले गाउँमै तरकारीको बीउ उत्पादन हुने र उत्पादित तरकारीले बजार पाउन थालेपछि उनीहरू तरकारी खेतीबाट आत्मनिर्भर हुन थालेका छन् ।

तामाकोशीको झुले गाउँका कृषकले तरकारी खेतीबाट जीविकापार्जन गर्दै आएका छन् । उराठिलो मरुभूमि झै देखिने यहाँका जमिनमा आरआरएनको सहयोगपछि यहाँका कृषकहरूको दैनिकी बदलिएको हो ।

गाउँ यसरी हरियालीमा परिणत होला भन्ने यहाँका बुढापाकालाई पनि विश्वास थिएन् । तर, सुख्खा यो ठाउँ अहिले हरियालीमा परिणत हुँदा यहाँका तरकारी कृषकहरु भने दंग देखिन्छन् ।

‘मेहनत, परिश्रम र लगनशिलता’ आरआरएनको मन्त्र उनीहरूको लागि बुटी बन्दा गाउँमा यसरी परिर्वतन सम्भव भएको उनीहरूको बुझाई छ ।

त्यसो त गाउँका पाटाबारीमा यसरी रायोको साग उब्जनी गर्न पनि आरआरएनले नै सिकाएको उनीहरूको भनाई छ । घर अगाडीको जुठेल्नोमा सिमित भएको तरकारी खेती यसरी घर तल/तलका बारीका पाटासम्म पुगेको छ । साग टिप्न भ्याई नभ्याई हुन्छ उनीहरूलाई । बजारसम्म नपुर्‍याउँदै बिक्री भैसक्छ । बाँकी करेसाबारीमा रहेको सागबाट गुन्द्रुक बनाएर बेच्न पाउँदा उत्पादन गरेको वस्तु खेर नजाने र थप आम्दानी गर्न पाउँदा उनीहरु दंग नै देखिन्छन् ।

यति खेर उनीहरुलाई सीमी, बोडी, भिन्डी, गट्टा, काँक्रो र फर्सी टिप्न भ्याईनभ्याई छ । सडक सञ्जालले जोडिएपछि बारीमै किन्न आईपुग्दा उनीहरुको आयआर्जनको गतिलो बनेको छ ।

गाउँका कृषकहरुका लागि आरआरएनले बितरण गरेको बीउ आलु, यसरी झुले गाउँका कृषकको खेतबारीमा लहलह हुँदा कृषकको मन कम्ति प्रफुल्लित छैन् । मेहनत र पसिना आफ्नै बारीमा बगाउन सके मनग्य आम्दानी हुने भन्दै अहिले पदमकुमारी र हिराबहादुर तामाङको जोडीलाई यहि आलुखेतीले खुशी दिएको छ ।

टर्नेलभित्र सुरक्षित रुपमा नर्सरी राखिएको छ । कोभि, खोर्सानी, टमाटर किबीलगायतका बिरुवा बिक्री हुँदा थप आम्दानी त भएकै छ ,बेर्नाले छिमेकीहरुलाई पनि तरकारी खेती गर्न सिकाएको छ । बिहान बेलुकी घरमै सागसब्जी टिप्न पाउँदा र यसरी ताजा आलु उखेल्न पाउँदा आम्दानी र बचतले उनीहरूको जीवनस्तर बदलिएको छ ।

उन्नत बीउबिजन र रैथाने बीउ बिजनको संरक्षण गर्न पनि अहिले कृषकहरूले सिकीसकेका छन् । गाउँमै बीउ बिजन केन्द्र खोलिए पछि तरकारी कृषकहरुलाई सजिलो भएको छ । उत्पादन भएको बीउ बिजन गाउँमै बिक्री पनि हुने र रैथाने बीउको संरक्षण पनि हुने छ । जसले गर्दा गाउँलाई कृषिमा आफै आत्म निर्भर हुन सिकाएको मात्र छैन, यसले सबै कृषकहरुमा अनुभव आदानप्रदान, आयआर्जन, सिप विकास, आत्मर्निभर, मेलमिलाप र एकताको सन्देश पनि दिएको छ ।