२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन हुँदै


1.053k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशनको तयारी भईरहेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा राजनीतिक दलका उच्च नेता र कर्मचारी संलग्नता देखिएपछि नागरिकहरू भ्रष्टाचारविरुद्ध उत्रिने भएका हुन् ।

राजनीति दलबाट प्रहरीलाई अनुसन्धानमा दबाब र प्रभाव नहोस् भनेर खबरदारीका लागि शनिबार काठमाडौंलगायत विभिन्न जिल्लाका शहरमा प्रदर्शन हुन लागेको हो ।

शनिबार दिउँसो नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’ भन्दै प्रदर्शन गर्न लागिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

शनिवार नै माइतीघर मण्डलालगायत अन्य क्षेत्रमा पनि स्वस्फुर्त भ्रष्टाचारविरोधी कार्यक्रम तय भएका छन् ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् भने एमालेले अनुसन्धानमा सहयोग पुगोस् भनेर निलम्बनसमेत गरेको छ ।