
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक आएको बताउनुभएको छ ।
अध्यक्ष गोल्यानले बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म कर्जा लिएका साना उद्योगी व्यवसायीहरुले असारमसान्तसम्म कर्जा पुनःसंरचना र पुनतालिकिकरणको व्यवस्था सकारात्मक रहेको बताउनुभयो ।
उहाँले मौद्रिक नीतिले २ करोडबाट बढाएर ५ करोड कर्जा लिने साना व्यवसायीहरुको लागि सहुलियतको व्यवस्था गर्नु राम्रो भएको भन्दै साना व्यवसायीहरुलाई राहत पुग्ने बताउनुभयो । उहाँले डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या देखिने समस्या नहुने बताउनुभयो ।
अध्यक्ष गोल्यानले समग्रमा राम्रो भएपनि उत्पादन क्षेत्र कृषि, ऊर्जा, पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातजन्य उद्योगहरु र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति अपुग भएको बताउनुभयो। उहाँले उत्पादन उद्योगमा जाने कर्जाको ब्याजदर घट्ने अपेक्षा भएपनि नभएको बताउनुभयो । उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक–फरक ब्याजदर कायम हुनुपर्ने भन्दै उहाँले उत्पादनमुलक उद्योगहरुमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष गोल्यानले समग्रमा मौद्रिक नीतिको समिक्षा सकारात्मक आएपनि मुलुकको अर्थतन्त्रमा देखिएका समस्या चुनौतिलाई तत्काल समाधान गर्नसक्ने नदेखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्