
काठमाडौं । यस वर्षको बसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ ।
आरोहणका लागि आइसफल डाक्टरले शनिबार दिउँसो सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने काम गरेपछि आरोहणको बाटो खुलेको हो ।
प्रतिकुल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इम्याजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् ।
अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले आइतबार बिहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने आंकलन गरिएको कम्पनीको भनाइ छ । अन्तर्राष्ट्रिय ख्याती आर्जन गरेका माउन्टेन गाईड दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र दीपेन गुरुङको टोलीले डोरी टाँगेर बाटो बनाउने काम सम्पन्न गरेको छ ।
सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही अनुकूल मौसमको प्रतिक्षामा थिए । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो खुलाइसकेका थिए ।
मौसम अनुकुल भइदिएको भए वैशाख २१ गते सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्