१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


बंगलादेशमा मोचा चक्रवत आँधीको चेतावनी


3.965k
Shares

काठमाडाैं । दक्षिण पूर्वी बंगलादेशमा चक्रवत आँधी आउनुअघि ५० हजार भन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।

आइतबार मोचा चक्रवत १७० किलोमिटर प्रतिघण्टाको बेगमा हावा र १२ फिटसम्मको आँधीका साथ आउने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । सो आँधीका कारण बंगलादेशको सबैभन्दा ठूलो शरणार्थी शिविर कक्स बजारलाई असर पार्ने भन्दै सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सो शिविरमा करिब १० लाख मानिस अस्थायी घरहरुमा बसोबास गर्ने बीबीसीले जनाएको छ । वर्षा जारी रहेकाले ती क्षेत्रमा विशेष निगरानी राखिएको र सचेत रहन आग्रह गरेको समाचारमा उल्लेख छ । मोचा चक्रवत बंगलादेशमा पछिल्लो दुई दशकयताकै शक्तिशाली आँधीका रुपमा आउनसक्ने सरकारी अधिकारीहरुको अनुमान छ ।

मौसम प्रणाली बंगलादेश हुँदै म्यानमारको तटीय क्षेत्रतर्फ बढीरहेकाले विमानस्थलहरु बन्द गरिएको छ भने माछा मार्नेहरुलाई नदी किनारबाट हटाइएको छ । आँधीबाट प्रभावित हुनेहरुलाई आपतकालीन आश्रयका लागि करिब १५ सय आश्रयस्थल तयार पारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघ लगायत विभिन्न दातृ निकायहरुले ती क्षेत्रमा आपतकाली अवस्था आए सहायताका लागि तयारी अवस्थामा रहेको बताएका छन् । समुद्री किनारमा रहेका होटल तथा पर्यटकीय क्षेत्रबाट पर्यटकलाई अन्यत्र सार्नुका साथै ती क्षेत्र पूर्णरुपमा खाली गरिएको छ । पछिल्लो समय छिमेकी म्यानमारबाट करिब १० लाख रोहिंग्याहरु बंगलादेशमा शरणार्थीको रुपमा बस्दै आएका छन् ।