१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गर्न प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन राप्रपाको माग


78
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाईदिन नेपाल सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गर्नुभएको हो ।

सो प्रकरणमा मुछिएकाहरुले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेका समाचार आईरहेका बेला उहाँले आईतबार आफ्नै पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढन दिनुपर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष लिङदेनले सो प्रकरणमा संलग्नहरु ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरु कसैले पनि उन्मुक्ति पाउन नहुने दोहोर्‍याउनुभयो । उहाँले सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सो प्रकरणको बिरोधमा यही जेठ ४ गते काठमाडौंको बसन्तपुरमा खबरदारी सभा गर्ने भएको छ । सो प्रकरण र मुलुकमा विद्यमान भ्रष्टाचार र भ्रष्टाचारीहरुको विरोधमा खवरदारी सभा गर्न लागिएको पनि अध्यक्ष लिङदेनले बताउनुभयो ।

यसैबीच, राप्रपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्न जेठ १ गते सोमबार पार्टी केन्द्रिय कार्य समितिको बैठक समेत बोलाएको छ ।