१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई हिरासतमा राख्न ४ दिन म्याद थप


702
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ ।

काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद थप भएको हो ।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् । सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ । हाल उनी फरार छन् । उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँण गत बैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए । उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दवाव बढिरहेको छ ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो । अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो ।

अमेरिका लैजाने भन्दै एक अर्ब रुपैयाँ बढी ठगी गरेको प्रकरणमा अझै दर्जनौं मुछिने सम्भावना छ ।