
काठमाडौं । सरकारले सांसदहरुको मागको सुनुवाइ नगरेको भन्दै सत्तारुढ दलका सांसदले आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद दिपक गिरीले सरकारले सांसदहरुको मागको सुनुवाई नगरेको भन्दै आपत्ति जनाउनु भएको हो । उहाँले जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनसन सुरु गर्नु परेको उल्लेख गर्दै उहाँले अरु सांसदहरुले आमरण अनसन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराउनु भयो ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल,संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।
उहाँले सरकारले सबै सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दवाव दिन आमरण अनसननै बस्न बाध्य नपारोस भनि चेतावनी समेत दिनु भयो ।सांसद गिरीले संसदमा सांसदहरुले राखेका मागबारे सरकारलाई गम्भिर बन्न पनि पटकपटक आग्रह गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्