२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वित्त र मौद्रिक नीतिबीच समन्वय आवश्यक छ : गभर्नर अधिकारी


117
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकार र बजारले वित्त नीति भन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको बताउनुभयो।

उहाँले मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरेपनि मौद्रिक नीतिमा सिमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक रहेको बताउनुभयो । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताउनु भयो। उहँले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष वाह्य क्षेत्रमा सहज रहेपनि आगामी दिनमा चुनौतिपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनको लागि ठूलो चुनौति वित्त नीतिमा देखिएको बताउनु भयो ।

गभर्नर अधिकारीले सरकारले राजश्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले मुलुक औद्योगिक क्षेत्रहरुको विकासमा धेरै पछाडि परेको भन्दै सरकारले घोषणा गरेका औधोगिक क्षेत्रको पीपीपी मोडलमा भएपनि सञ्चालनमा ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले नेपालको अर्थतन्त्रका फरक–फरक खालका विषेशता रहेको बताउनु भयो। गभर्नर अधिकारील राष्ट्र बैंकले बारम्बार संरचनागत सुधारका कुराहरु उठिरहेको बताउनु भयो । उहाँले मुलुक कतिपय आर्थिक विषयमा परनिर्भर रहेको भन्दै परनिर्भतालाई केही अन्तरनिर्भतामा ल्याउन आवश्यकता रहेको बताउनु भयो। उहाँले नेपालप्रति पनि अन्य देशहरु परनिर्भर रहने धेरै अवस्था रहेको भन्दै मुलुकमा आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउनु भयो।