
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको टिप्पणी गर्नुभएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री समेत रहनु भएका प्रवक्ता महतले घटनाको अनुसन्धान जारी रहे पनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको टिप्पणी गर्नुभएको हो ।
उहाँले अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी नै प्रमाणित भएको जस्तो गरेर भइरहेकाे व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताउनुभयो ।
अनुसन्धानका क्रममा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको साबित गर्छु भनेको जानकारी दिँदै उहाँले निर्दोष नफसून र दोषी नउम्किउन् भन्ने पक्षमा कांग्रेस प्रष्ट रहेको बताउनुभयो । त्यस्तै उहाँले काँग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो । देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उहाँले आग्रह गर्नुभयो ।
महतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाले नाम लिएका कांग्रेस सांसद मञ्जु खाँण कहाँ छिन् भन्ने बारे पार्टीले फलो नगरेको र गर्ने विषय पनि नभएको जिकिर गर्नुभयो ।
आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतको दाबी छ । नक्कली शरणार्थी प्रकरण सम्बन्धमा पार्टीको बैठकमा महामन्त्रीद्वयले कुनै असन्तुष्टि नराखेको तर बाहिर विभिन्न खालका विषय आएको भन्दै महतले असन्तुष्टि जनाउनुभयो ।
शरणार्थी प्रकरणका कारण सत्ता समीकरणमा कुनै फेरबदल नहुने उहाँको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्