
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार जुनसुकै दवाव आएपनि पछि नहट्ने दृढता व्यक्त गर्नुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दवावमा नपरीकन काम गर्न निर्देशन दिइएको जानकारी दिँदै निष्पक्ष रुपमा काम भईरहेको जिकिर गर्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका समिति सदस्य विश्वप्रकाश शर्माले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गर्नुभयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्याएको हो भन्ने जवाफ दिनुपर्ने बताउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइन नहुने बताउनुभयो । समितिले निस्कर्ष निकालेका विषयलाई तोडमोड गर्नु नहुने उहाँको जिकिर छ ।
नेकपा एकीकृत समाजवादीका सांसद सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन माग गर्नुभयो ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउन सुझाव दिनुभयो । नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले समितिलाई शुरुवातदेखि नै व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्