
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रुपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामाकरण गर्न नहुने बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाहरुको स्पष्ट परिभाषा तयगरी त्यसभित्र पर्नेलाई मात्रै सो नामाकरण गर्न उपयुक्त हुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण समेत गराउनुभयो ।
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले मन्त्री, प्रधानमन्त्रीलाई लाग्ने वित्तिकै राष्ट्रिय गौरवको आयोजना बनाउने काम गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।
सयौंको संख्यामा कुनै पनि देशमा राष्ट्रिय गौरवको आयोजना हुनै नसक्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले ‘जति थोरै हुन्छ, त्यो गौरवको हुन्छ’ भन्ने मान्यताका साथ अघि बढन पनि सरकारलाई सुझाव दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको परिभाषालाई सरकारले थप व्याख्या गरेर अघि बढनुपर्ने उहाँको भनाई थियो ।
अध्यक्ष तिमिल्सिनाले आयोजनाको काम पूरा नहुँदासम्म जिम्मेवारी पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । त्यसो गरियो भने जवाफदेही सोही पदाधिकारी हुने भएकाले काम समयमै सम्पन्न गर्न सहज हुने उहाँको निष्कर्ष थियो । अध्यक्ष तिमिल्सिनाले विकास, निर्माणको काममा सकेसम्म स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्