
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताउनु भएको छ ।
३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश दिँदै उहाँले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री दाहालले भन्नु भएको छ –‘आज ३० औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । ’
उहाँले सन्देशमा, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’ भन्नु भएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते राजनीतिक कामको शिलशिलामा पोखराबाट चितवन फर्कने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटना आजसम्म पनि रहस्यको गर्भमा छ । जीप दुर्घटनामा परेर दुई नेताको निधन भएपछि त्यसलाई हत्या भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी रहेको नेकपा एमाले आन्दोलनमा उत्रिएको थियो । सो घटना हत्या हो वा दुर्घटना भन्ने अझैसम्म खुल्न सकेको छैन । यो ३० वर्षको बीचमा नेकपा एमाले पटक पटक सत्तामा पुग्यो भने भण्डारीकी श्रीमति विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति समेत बन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्