
काठमाडौं । विद्यावारिधि उपाधि हासिल गर्ने पहिलो नेपाली अनागारिका सद्धम्मजोतिकधज डा. अनोजा गुरुमाँको निधन भएको छ ।
हड्डीको क्यान्सरबाट पीडित ६३ वर्षकी गुरुमाँको उपचार क्रममा बुधबार बिहान करिब साढें १ वजेतिर ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
मरणोपरान्त आफनो भौतिक शरीर दान दिने उहाँको इच्छा बमोजिम शुक्रवार धुलिखेल अस्पताललाई शव हस्तान्तरण गर्ने कार्यक्रम छ ।
उहाँले सन् १९९९ मा भारतस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट अभिधम्मवतपुरन्तिक विषयमा विद्यावारिधि गर्नु भएको थियो । गृहस्थ नाम शारदा मानन्धर भएकी गुरुमाँ २०२७ साल मंसिर १ गते बनारसमा थेरबाद बौद्ध परम्परा अनुसार प्रव्रजित भएर अनोजा नाममा अनागारिका हुनुभएको थियो ।
सुलक्षणकीर्ति विहार, चोभारका संस्थापक प्रमुख रहनु भएकी गुरुमाँले बर्मा र भारतबाट अभिधम्म र बौद्ध उच्च शिक्षा प्राप्त गर्नु भएको थियो । नेपालमा बुद्ध शासन चीरस्थायी बनाउन, महिला शिक्षा तथा सशक्तिकरण र समाजसेवामा उहाँको उल्लेखनीय योगदान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्