
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज साँझसम्म बुझाउन जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई निर्देशन दिएको भए पनि अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले थप तीन दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सीताराम रिजालले जानकारी दिनुभयो ।
२०७९ चैत १२ गते प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । यस्तै, चैत १५ गते मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।
यो प्रकरणमा रायमाझी, खाणसहितका १४ जना जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका विभिन्न हिरासतमा रहेका छन् । प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानूनी प्रावधान छ । सुरुमा पक्राउ परेका आरोपीहरू ५४ दिनदेखि हिरासतमा छन् । पछि पक्राउ परेकाहरूको पनि सुरुमा पक्राउ परेका आरोपीसँग म्याद मिलान हुने छ ।
प्रतिक्रिया दिनुहोस्