
काठमाडौं । सांसदहरुले प्रतिनिधि सभाको बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्दैछन् ।
आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा प्रश्न सोध लागेका हुन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्न बुधवारसम्म २० जना प्रतिनिधि सभाका सांसदले प्रश्नबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन् । तर प्रतिनिधि सभाको नियमावलीमा भएको व्यवस्था अनुसार आजको बैठकमा १५ जना सांसदले मात्रै प्रश्न सोध्न सक्नेछन् ।
प्रश्न गर्न चाहने सांसद्ले विषयवस्तुसहित ३ दिनअगाडि नै संसद सचिवालयमा जानकारी गराउनुपर्ने छ । १५ सांसदहरूले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचार,बेथिति आदि विषय प्रधानमन्त्रीलाई प्रश्न सोध्न लागेका हुन् । संसद् सचिवालयका अनुसार सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ३/३ जना सांसदले प्रश्न गर्न पाउनेछन् ।
त्यसैगरी अरु सत्तारुढ पार्टीहरु नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति तथा बिपक्षमा रेहका राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, र जनमत पार्टीका १÷१ जनाले प्रश्न गर्न पाउनेछन् । त्यसैगरी एकजना सांसद रहेका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र दुई जना स्वतन्त्र सांसदमध्येबाट १ जनाले बोल्नुपर्ने सचिवालयको प्रस्ताव गरेको छ ।
तर सबैले प्रश्न टिपाएकाले कुन विधिबाट प्रतिनिधित्व गराउने भन्नेचाहिँ तय भइ नसकेको पनि संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्