
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कानूनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरमार्फत सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भएपनि कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।
उहाँले प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हालसम्म कुनै पनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने बताउनुभयो । उहाँले दोषि नउम्किउन् र निर्दोष नपरुन् भन्नेमा सरकारको जोड रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिनको प्रक्रिया अगाडी बढाइराखेको जानकारी गराउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याएर मात्रै सुशासनको नयाँ प्रक्रियाको थालनी गर्न सकिन्छ भन्नेमा सरकारको विश्वास रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्