
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलिय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताउनु भयो। उहाँले विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताउनुभयो ।
उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको बताउनुभयो । उहाँले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताउनुभयो। उहाँले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्य विरुद्धको अपराध भएको बताउनुभयो ।
उहाँले भ्रष्टाचारमा सग्लन कुनैपनि मानिसहरुले उन्मुक्ती पाउनु नहुने बताउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्ने बताउनुभयो । उहाँले अपराधमा संलगनहरुलाई राज्य विरुद्धको अपराध, ठगि, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धिको अपरा मुद्दाहरु चलाउन आग्रह गर्नुभयो । उहाँले प्रहरीले नक्कली भूटानजी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताउनुभयो ।
उहाँले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने बताउनुभयो । उहाँले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्