
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(शुक्रबार) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा तामझाम नगरी सामान्य रुपमा जानु हुने भएको छ ।
पौडेलले आज संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) को संयुक्त बैठकलाई अपरान्ह ४ बजे संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै हुनुहुन्छ । त्यस क्रममा राष्ट्रपति पौडेल बिना तामझाम जानुहुनेछ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगरी संसद भवन जाने ब्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । बिगतमा राष्ट्रपतिहरु सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा तामझामका साथ सडक अवरोध गरेर जाने गरेकोमा पौडेलले भने सामान्य रुपमा संसद पुग्ने व्यवस्था गर्न निर्देशन दिनु भएको हो ।
सडक अवरोध गरेर र सर्वसाधारणले सास्ती पाउँदा बिगतका आम नागरिकले असन्तुष्टि ब्यक्त गर्ने गरेका थिए । त्यसकारण पौडेलले नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको हो । राष्ट्रपतिमा चयन भएपछि संघीय संसदको संयुक्त बैठकलाई पौडेलले पहिलो पटक सम्बोधन गर्न लाग्नु भएको हो । पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्