
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुर्नमूल्यांकन गर्ने बेला नभएको बताउनुभएको छ ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको बताउनुभयो ।
यादवले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताउनुभयो । पूर्वराष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दावी गर्नुभयो । उहाँले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरुले संविधान अनुकुल काम नगर्दा पुस्तकबाट जनतामा सुसूचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताउनुभयो । उहाँले नेपालमा शासकले विधिलाई शासन गरिरहेको बताउनु भयो ।
वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले विधिलाई शासकले शासन गर्नेकुरा सह्य हुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्