
एजेन्सी । विश्वका सात प्रमुख धनी राष्ट्रहरूको समूह (जी–सेभेन) को शिखर सम्मेलन आइतबार समापन हुँदैछ ।
गत शुक्रबार जापानको हिरोसिमा शहरमा सुरु भएको सम्मेलनबाट रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
यस्तै सम्मेलनले चीनको बढ्दो आर्थिक तथा सैन्य गतिविधिप्रति चिन्ता ब्यक्त गरेको छ । रुसमाथि लगाइएको थप आर्थिक नाकाबन्दीमा रुसी हिरा निर्यात रोक्ने विषय प्रमुख रहेको छ । रुसले वार्षिक ४ अर्ब डलर भन्दा बढीको हिरा निर्यात गर्ने गर्दछ । यस्तै रुसबाट तामा, आल्मुनियम र निकलको निकासी पनि विश्व बजारमा जान नदिने सहमति जी सेभेनका नेताहरुले गरका छन् ।
बैठकपछि जारी गरिएको संयुक्त वक्तब्यमा रुसले कब्जा गरेको युक्रेनी भूमि फिर्ता गर्नुपर्ने विषयलाई जोडदार रुपमा उठाइएको छ । त्यसैगरी चिनियाँ गतिविधिप्रति पनि उनीहरुले उसैगरी चिन्ता ब्यक्त गरेका छन् । चीनले हिन्द–प्रशान्त क्षेत्रमा बढाएको सैन्य तथा आर्थिक गतिविधिप्रति उनीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
विशेष गरी चीनले आर्थिक मामिलालाई सैन्य गतिविधिसँग जोडेको भन्दै जी सेभेनका नेताहरुले चीनसँग प्रत्यक्ष संवाद गर्ने निर्णय गरेका छन् । चीनसँग ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्ने निष्कर्ष निकालेका उनीहरुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँग पश्चिमा शक्तिहरू र जापानबीच तनाव थप बढ्न नदिने प्रतिवद्धता पनि जनाएका छन् ।
त्यसका लागि चीनसँग खुलेर कुरा गर्ने उनीहरुको नीति छ । सम्मेलनमा अकस्मात सहभागी भएका युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसमाथि दवाब दिन जी सेभेन राष्ट्रका प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । रुस विरुद्ध कडा प्रतिबन्ध र युक्रेनका लागि थप हतियार र आर्थिक सहयोगका लागि उहाँले आग्रह गर्नुभएको थियो ।
जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ सोल्जलगायत नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्