१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


विपन्न वर्गको निशुल्क उपचार गर्न काठमाडौंका अस्पताललाई महानगरपालिकाको उर्दी


208
Shares

काठमाडौं । काठमाडौं महानगरपालिले महानगर भित्रका अस्पतालहरूलाई लक्षित वर्गको निशुल्क उपचार गर्न निर्देशन दिएको छ ।

मेयर बालेन्द्र शाहले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको दश प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिनुभएको हो ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा सो व्यवस्था भएको उल्लेख गर्दै मेयर शाहले अस्पतालहरूलाई उक्त ब्यवस्था कार्यान्वयन गर्न सचेत गराउनु भएको हो ।

यस्तै अस्पतालहरुले सेवाग्राहीमैत्री सेवा प्रवाह गर्नुपर्ने र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि भनिएको छ ।

यस्तै फोहोरमैला व्यवस्थापन, अस्पतालका क्यान्टिनमा खाद्य गुणस्तर कायम, परिक्षणका लागि बाहिरका प्रयोगशालामा सिफारिस नगर्नेलगायतका विषयहरुको पनि अनुगमन गर्ने भन्दै मेयर शाहले प्रचलित कानुन पालनामा अटेरी गरे कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ ।

महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने र सोको विवरण हरेक महिना प्रकाशित गर्नुपर्ने मेयर शाहको भनाइ छ ।