
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताउनुभएको छ ।
आइतबार सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम माथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरु मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ति समस्याहरुलाई समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले रैथाने बाली, बिउबिजन, नश्ल र कृषि तथा पशुपंक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरुलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले कृषि, पशुपंक्षी र खाद्य सम्बन्धि प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गरी यस्तो वस्तुहरुको ओसार-पसार हुने सबै भन्सार बिन्दु र मुख्य शहरहरुमा प्रयोगशाला स्थापना हुनुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचिमा समावेश गर्न समेत आग्रह गर्नुभयो । विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँहरुमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्