
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले अन्य कुराहरुमा सत्तापक्षसँग आफ्ना विभिन्न असहमतिहरु भएपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने स्पष्ट पार्नुभयो ।
विधेयक टुंगोमा पुर्याउँदा दलहरुबीच पर्याप्त परामर्श, बेपत्ता पारिएका व्यक्तिका परिवारबीच पर्याप्त परामर्श र पीडितको न्याय हुनेगरी पारित गर्नुपर्नेमा जोड दिनुभयो ।
उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्नेकुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्