३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज प्रतिवेदन बुझाउँदै


104
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सोमबार आफ्नो रायसहितको पूर्ण प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउँदैछ ।

आइतबार समय अभावको कारण आंशिक प्रतिवेदन मात्रै बुझाएको प्रहरीले सोमबार पूर्ण प्रतिवेदन बुझाउने भएको हो । जिल्ला सरकारी वलिकको कार्यालयले यस विषयमा अभियोजनपत्र तयार पार्न आइतबार नै ८ सदस्यीय कार्यदल गठन गरिसकेको छ ।

हाइ प्रोफाइलहरु तानिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना हिरासतमा रहेका छन् । थप १६ जना फरार रहेकोले खोजी भईरहेको छ ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वसभासद आङटावा शेर्पासहित १६ जना पक्राउ परेका छन् ।

पूर्वसभासद शेर्पाविरुद्ध ५ जनाले किटानी जाहेरी दिएको बुझिएको छ । दोलखाका ५ जनाले आफूहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा रकम असुलेर ठगी गरेको भन्दै शेर्पाविरुद्ध जाहेरी दिएका हुन् ।

यो प्रकरणमा प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको बुझिएको छ ।