
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गर्नु भएको छ ।
सोमबार नेपालले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीको नामै नलिई उहाँले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताउनुभयो । आईतबार ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्विकार गर्न नसकिने अडानसहितको धारणा राख्नु भएको थियो ।
अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरुलाई खोचपेज हुने गरी आएको भन्दै आलोचना गर्नुभयो । उहाँले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन ओलीलाई सचेत गराउनु भयो ।
अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्विकार नगरेको आरोप समेत लगाउनुभयो । ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि उहाँले दोहोर्याउनु भयो । अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो ।
अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्